इण्डियन गोर्खा जनशक्ति फ्रन्ट (आइजीजेएफ) का प्रमुख संयोजक अजय एडवर्ड्स शुक्रबार पार्टी विस्तारको क्रममा कालेबुङ पुगेका थिए। पार्टीको संगठनात्मक विस्तारलाई तीव्रता दिने उद्देश्यका साथ उनी कालेबुङ जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएका थिए।
यस क्रममा एडवर्ड्सले 2013 को गोर्खाल्याण्ड आन्दोलनमा आत्मदाह गरेका शहीद मंगलसिंह राजपुतको सालिग अनावरण गरे। स्थानीय स्तरमा गरिएको यस कार्यक्रममा उनले शहीद मंगलसिंहप्रतिको श्रद्धाञ्जलि अर्पण गर्दै गोर्खा आन्दोलनको बलिदान र त्यागलाई स्मरण गर्नुपर्ने आवश्यकता औंल्याए।
त्यसैगरी, डा. ग्राह्मस होम्स सार्वजनिक भवनमा आयोजित समर्थन कार्यक्रममा उनले विशेष उपस्थिति जनाए। सो अवसरमा कालेबुङ जिल्लाका विभिन्न 13 समष्टिबाट 500 भन्दा बढी परिवारले विभिन्न पार्टीहरू त्यागेर इण्डियन गोर्खा जनशक्ति फ्रन्टमा सामेल भएको दाबी गरिएको छ।
कार्यक्रममा पार्टी संयोजक एडवर्ड्ससँगै संगठनका पदाधिकारी, कार्यकर्ता तथा ठूलो संख्यामा स्थानीय जनसमुदायको उपस्थिति थियो। सहभागी स्थानीय प्रतिनिधिहरूले आफ्ना-आफ्ना समष्टिमा पार्टीको विचारप्रति जनसमर्थन बढ्दै गएको बताए। उनीहरूले संगठनलाई सबल बनाउन र भविष्यमा जनताका सवालमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि जनाए।


Leave a Comment